Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
20.1 C
Kathmandu

३८ जनालाई रोजगारी दिने भाडाको जग्गामा करोडौंको तरकारी

spot_img

दाङ,२८ वैखाश । दाङको घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारी खेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन्। उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । खड्काले व्यावसायिक रूपमा तरकारीखेतीमा लागेको १० वर्ष भयो। बुबाले गरेको कर्मलाई नै मार्गदर्शन मानेर खड्काले सुरुमा थोरै मात्रामा खेती गर्दै आएको भए पनि व्यावसायिक रूपमा लागेपछि ठूलो परिमाणमा खेती गरेका हुन् ।

तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तरिकाबारे सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उनको भनाइ छ। किसान खड्काले खेती गर्दै जाँदा यसमा धेरै कुराको अनुभव बटुल्न पाएको बताए । ‘स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारी खेतीले प्रतिफल राम्रो दिँदै गएको छ’, उनले भने, ‘कृषि पेसामा पनि आफूले तरकारीखेती नै धेरै सम्भावना देखेर यसलाई निरन्तरता दिँदै आएको छु, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।’

राप्ती बवई एग्रिकल्चर प्रालिमार्फत सञ्चालन गर्दै आएको खेतीमा उनले बोडी, काक्रा, करेला, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । केही वर्ष अगाडि रोल्पामा पनि तरकारी खेती गरेको, त्यहाँ ढुवानी र बजारको समस्या हुने भएकाले दाङमा झरेर थप व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएको किसान खड्का बताउँछन् । जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका खड्काले यसबाट आकर्षक आम्दानी हुने गरेको बताए । सानैदेखि नै यही पेसामा लागेकाले आफूले अन्य कामतिर ध्यानै नदिएको र यसमै सन्तुष्ट रहेको उनको भनाइ छ ।

खड्काले वार्षिक दुई करोडभन्दा बढी मूल्यको तरकारी उत्पादन गर्दै आएका छन् । ‘जसबाट ३५ प्रतिशत बचत हुने गरेको छ, भाडाको जग्गाको वार्षिक रु पाँच लाख तिर्ने गरेको छु’, उनले भने, ‘स्थानीय नागरिक तरकारी फार्ममै काम गर्न पाउँदा उनीहरू पनि खुसी भएका छन्, दुई–चार पैसा कमाउन अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ ।’ भोलिका दिनमा व्यवसायलाई अझ बढाउँदै लैजाने उनको सोच छ ।

तरकारी फार्ममा काम गर्दै आएका स्थानीय गीता महरा घर नजिकै काम पाउँदा खुसी भएको बताउँछिन् । काम गरेबापत तलब पनि समयमा पाउँदै आएको उनको भनाइ छ । उनी जस्तै रञ्जिता चौधरी पनि विगत दुई वर्षदेखि त्यही तरकारी फार्ममा काम गर्दै आएको बताउँछिन् । यहाँ काम गरेदेखि परिवारको घरखर्चमा केही सहयोग मिलेको उनले बताइन् । धेरै दुःख पनि नहुने दुई–चार पैसा कमाउनका लागि अन्यत्र जान नपर्ने उनको भनाइ छ ।

आफ्नै देशमा उत्पादनको प्रशस्त सम्भावना भएर पनि वार्षिक करोडौँ रुपैयाँको तरकारी आयात हुँदै आएको छ । स्वदेशभित्रै उत्पादन गर्न सकिने र बजारीकरणको पनि समस्या नहुने अवस्थामा तरकारी खेतीलाई प्रोत्साहन गरी स्वदेशभित्रै रोजगारी बढाउने काममा तीनै तहका सरकारले जोड दिनुपर्नेमा स्थानीय अगुवाले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once