वीरगंज,२६ वैशाख । भारतले आतंकवादविरुद्ध अघि सारेको ‘मिसन सिन्दुर’ अभियानपछि भारत र पाकिस्तानबीच सैनिक तनाव चुलिएको छ।
कश्मीर क्षेत्रमा २६ जना निर्दोष नागरिकको आतंकवादी शैलीमा हत्या भएपछि भारतले कडा प्रतिक्रिया स्वरूप ‘मिसन सिन्दुर’ सञ्चालनमा ल्याएको हो। त्यसको जवाफमा पाकिस्तानले पनि कारबाही गर्ने चेतावनी दिँदै आएको छ। पछिल्ला दिनमा दुवै देशको सीमावर्ती क्षेत्रमा सैन्य तनाव तीव्र हुँदै गएको समाचार सार्वजनिक भएका छन्। द्वन्द्वको असर भारतको अर्थतन्त्रमा पनि देखिन थालेको छ। तनाव बढेसँगै शुक्रबार भारतको शेयर बजारमा गिरावट आएको छ।
यसअघि रसिया–युक्रेन युद्धले विश्वव्यापी रूपमा वस्तु आपूर्तिमा असर पुर्याएको थियो, जसको प्रभाव नेपाली बजारमा समेत देखिएको थियो। भारत, जुन दक्षिण एशियामा प्रमुख उत्पादक र आपूर्तिकर्ता राष्ट्रका रूपमा उभिएको छ, युद्धमा तानिँदा नेपालमा त्यसको प्रभाव कस्तो पर्ला भन्ने चासो बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकअनुसार नेपालले भारतबाट मात्र ७ खर्ब ८५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सामग्री आयात गरिसकेको छ। सो अवधिमा नेपालले कुल १३ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेकोमा भारतको हिस्सा अत्यधिक देखिन्छ। यता निर्याततर्फ पनि भारत प्रमुख गन्तव्य रहेको छ। चैत मसान्तसम्म नेपालले भारतमा १ खर्ब ५० अर्ब रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ। कुल निर्यातमा भारतको हिस्सा निकै उच्च रहेको तथ्यांकले देखाउँछ।
नेपालको वैदेशिक व्यापारको करिब ६० प्रतिशतभन्दा बढी हिस्सा भारतसँगको व्यापारमा निर्भर छ। हाल सञ्चालनमा रहेका स्थलगत भन्सार नाकामध्ये अधिकांश भारतसँग जोडिएका छन्। रसुवा र तातोपानीजस्ता चीनसँगका नाकाबाट भने चैत मसान्तसम्म जम्मा ७.३२ प्रतिशत मात्र आयात भएको छ। निर्याततर्फ यो हिस्सा झनै न्यून छ — रसुवा नाकाबाट ०.९७ प्रतिशत र तातोपानीबाट निर्यात शून्य रहेको छ। तेस्रो मुलुकबाट आयात हुने अधिकांश सामग्री पनि भारतीय भूमि हुँदै नेपाल प्रवेश गर्ने भएकाले भारतमा उत्पन्न कुनै पनि असहज परिस्थितिले नेपाली बजारमा प्रत्यक्ष असर पार्न सक्छ।
पाकिस्तानसँगको व्यापार भने न्यून छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालले पाकिस्तानबाट मात्र २५ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ भने जम्मा ६ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ। नेपालको कुल व्यापारमा पाकिस्तानको योगदान नगण्य रहेको छ।
सरकारको तयारी के छ?
संघीय सरकारअन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका सहसचिव शिवराम पोखरेलका अनुसार भारत–पाकिस्तानबीचको तनावले नेपालको व्यापारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयमा छलफल भएको छ। प्रारम्भिक मूल्याङ्कनमा हाल नेपाली बजारमा तत्काल कुनै प्रभाव पर्ने सम्भावना नदेखिएको उनले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा अघिल्लो वर्षको तुलनामा चामल, गहुँजस्ता आधारभूत खाद्यान्नको आयात उल्लेखनीय मात्रामा बढेको छ र अहिले बजारमा पर्याप्त भण्डारण उपलब्ध छ। ‘नेपालगञ्ज र धनगढी नाकाबाहेक अन्य स्थानबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात भइरहेको छ। चामल, गहुँ जस्ता वस्तुको आयात विगतभन्दा धेरै भएको छ तर बिक्री कम भएकाले बजारमा अभावको अवस्था छैन’, पोखरेलले भने। सरकारले बजारमा समस्या नआओस् भनेर सम्भावित उपायबारे छलफल गरिरहेको र निजी क्षेत्रले पनि आफ्नो भूमिका निर्वाह गरिरहेको उनले बताए।





