वीरगंज,२४ वैशाख । भारतले पाकिस्तान र पाकिस्तानद्वारा प्रशासित कश्मीरका ९ स्थानमा हवाई हमला गरेको छ।
पहलगाम आक्रमण भएको १५ दिनपछि भारतीय सेनाले बुधबार राति करिब १:३० बजे ‘अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा हवाई कारबाही गरेको जनाएको दिए ।
यसअघि भारत सरकारले एक विज्ञप्ति जारी गर्दै ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही सुरु गरिएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही पाकिस्तान र पाकिस्तानद्वारा प्रशासित कश्मीरमा रहेका ती आतंकवादी पूर्वाधारहरूलाई लक्षित हो, जहाँबाट भारतमा आतंकवादी गतिविधिहरूको योजना र कार्यान्वयन भइरहेको थियो।’
भारतको अनुसार, यो अपरेशनमा जम्मा नौवटा स्थानहरूमा हमला गरिएको हो।
पाकिस्तानको सरकारी टेलिभिजनले भने सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतले पाकिस्तानका तीन स्थानमा मिसाइल हमला गरेको दाबी गरेको छ।
पाकिस्तानी सेनाको भनाइमा, आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको छ।
प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई कारबाहीमा मस्जिदसहित धेरै स्थानहरूलाई निशाना बनाइएको बताएका छन्।
उनले भने, ‘पाकिस्तानले यस एकतर्फी भारतीय आक्रमणको कडा जवाफ दिने पूर्ण अधिकार राख्दछ। सम्पूर्ण राष्ट्र आफ्ना सुरक्षाकर्मीहरूको साथमा छ। हाम्रो आत्मबल र संकल्प दृढ छ। हामी पाकिस्तानका बहादुर सैनिकहरूसँग प्रार्थनामा छौं।’
शरीफले पाकिस्तानका जनता र सुरक्षाफौज जुनसुकै खतराको सामना गर्न तयार रहेको पनि बताएका छन्। एजेन्सी-





