भोजपुर,२३ वैशाख । भोजपुरको उत्तरी साल्पा सिलिछों गाउँपालिका–३ गोपिनीचौरमा पुनःनिर्माण गरिएको डिगम्वरेश्वर महादेव मन्दिरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले एक औपचारिक कार्यक्रमबीच सम्पन्न गरेका छन्।
स्थानीय समाजसेवी डिगवीर र धनमाया अधिकारीले सन् २०१८ मा भारतको बनारसबाट ल्याएको शिवलिङ्गलाई २०२९ सालको जेठ महिनामा स्थापना गरिएको थियो। माटो र ढुंगाले बनेको पुरानो मन्दिर जीर्ण भएपछि ५१ वर्षपछि आकर्षक प्यागोडा शैलीमा मन्दिरको पुनःनिर्माण गरिएको हो।
पुनर्निर्माण समितिका संयोजक केशव अधिकारीका अनुसार, सामाजिक सञ्जालमार्फत गरिएको आह्वानमा देश–विदेशमा रहेका ३७५ दाताबाट करीब ६२ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ। समितिले भक्तपुरे इँटा, तामाको छानो, काठका कलात्मक झ्यालढोका, र काठमाडौंका दक्ष कालीगढहरूको प्रयोग गरेर मन्दिर निर्माण सम्पन्न गरेको जनाएको छ।
उद्घाटन समारोहमा पूर्वमन्त्री, विभिन्न दलका केन्द्रीय र स्थानीय नेताहरू, जनप्रतिनिधिहरू, बुद्धिजीवी, कर्मचारी, शिक्षक तथा अमेरिका, बेलायत, काठमाडौं र अन्य क्षेत्रबाट आएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति थियो।

मन्त्री राईले दुर्गम क्षेत्रमा स्थानीयको पहलमा यस्तो भव्य मन्दिर निर्माण हुनु प्रशंसनीय रहेको भन्दै भविष्यमा पर्यटन पूर्वाधार विकासका लागि प्रदेश सरकारले सहकार्य गर्ने बताए। साथै, उनले वर्तमानमा पुल–सडक निर्माण भए पनि ती पूर्वाधारको समुचित प्रयोग नभएको उल्लेख गरे।
मन्दिर परिसरमा वृक्षरोपण पनि गरिएको थियो। कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो।
मन्दिर प्रांगणमा शिवपञ्चायन, वसाह, हनुमान, राधाकृष्ण, किरातेश्वर महादेव र नवदुर्गा भवानीका मूर्ति स्थापना गरिएका छन्। साथै, तुलसीको मोठ, वत्ति प्रज्वलन स्थल, ढुंगा बिछ्याउने र पर्खाल लगाउने कार्यहरू समेत सम्पन्न गरिएका छन्।
मन्दिर संरक्षण तथा विकास समितिले पुनर्निर्माण नियम २०८० जारी गर्दै संयोजकमा केशव अधिकारी र सदस्यहरूमा कोमलबहादुर अधिकारी, महेन्द्र अधिकारी, कर्णबहादुर अधिकारी, सुदीपबहादुर अधिकारी तथा सदस्यसचिवमा राम अधिकारीलाई समावेश गर्दै समिति गठन गरेको हो।





