Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

एकैदिन आधा दर्जन सरकारी कार्यालयहरुमा छड्के अनुगमन, मालपोतका कर्मचारीहरु ढिला उपस्थित

spot_img

वीरगंज (पर्सा), २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले एकै दिन जिल्लाको विभिन्न आधा दर्जन सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । लामो समयपछि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न कार्यालयहरुमा छड्के अनुगमन गरिएको हो । नयाँ प्रमुख जिल्ला अधिकारी गणेश अर्याल आएपछि जिल्ला प्रशासनबाट सोमबार एकैदिन आधा दर्जन कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

प्रजिअ अर्यालको निर्देशनमा जिल्ला प्रशासन कार्यालयको दुईटा अनुगमन टोलीले एकैदिन भूमी सुधार तथा मालपोत कार्यालय पर्सा, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्सा, यातायात व्यवस्था कार्यालय पर्सा, नेपाल विद्युत प्राधिकरण कार्यालय पर्सा, स्वास्थ्य कार्यालय पर्सा तथा डिभिजन वन कार्यालय पर्सामा एकै दिन छड्के अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी निशान राज गौतम र सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की नेतृत्वमा रहेको अनुगमन टोलीले विभिन्न कार्यालयहरु छड्के अनुगमन गर्दै देखिएको कमिकमजोरी सुधार गर्न विभिन्न निर्देशन समेत दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

अनुगमनको क्रममा भूमी सुधार तथा मालपोत कार्यालय पर्सामा ५१ जना कर्मचारीको दरबन्दी रहेकोमा दैनिक ज्यालादारी समेत गरि ५६ जना कर्मचारी पदपूर्ति रहेको पाइयो । जसमा ३ जना कर्मचारी अनुपस्थित, ४ जना कर्मचारी बिदामा रहेको तथा २१ जना कर्मचारी ढिलो गरि कार्यालयमा उपस्थित भएको पाइएको थियो । यसैगरि सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्सामा २० जना कर्मचारीको दरबन्दी रहेकोमा २० जना कर्मचारी पदपूर्ति रहेको पाइयो । जसमा १ जना कर्मचारी बिदामा, ८ जना अनुपस्थित तथा १ जना हाजिर नगरेको पाइएको थियो ।

यसैगरि यातायात व्यवस्था कार्यालय पर्सामा कार्यालय प्रमुख समेत ११ जना कर्मचारी अनुपस्थित रहेको पाइएको थियो । नेपाल विद्युत प्राधिकरण कार्यालय बितरण केन्द्र वीरगंजको कार्यालयमा इ-हाजिरी लागू भएकोमा विवरण आउन सकेको छैन । त्यसैगरि जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा ५ जना कर्मचारी अनुपस्थित रहेको तथा १ जना कर्मचारी बिदामा रहेको पाइएको थियो । यसरी नै डिभिजन वन कार्यालय पर्सामा ५ जना कर्मचारी अनुपस्थित तथा १ जना कर्मचारी बिदामा रहेको पाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

ढिलो आएका कर्मचारीहरुलाई कार्यालय प्रमुख एवं निरीक्षण टोलीको संयोजकबाट अब उपरान्त यसो गरेको पाईएमा कारवाही समेत गर्ने गरी मौखिक निर्देशन दिइएको छ । साथै अनुपस्थित देखिएका कर्मचारीहरुको हकमा अब उपरान्त साईट/फिल्डमा गएका कर्मचारीहरुको लगबुक राख्ने, निजहरुको विवरण अद्यावधिक राख्ने भनी निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रदेश कार्यालयको हकमा सम्बन्धित मन्त्रालयमा कारवाहीको लागि लेखी पठाउने र अन्य कार्यालयको हकमा सम्बन्धित कर्मचारीसँग स्पष्टीकरण माग गरिएको छ ।

जनसम्पर्क बढी भएको र गुनासो आएका कार्यालयहरूको नियमित अनुगमन गरिने र कार्यालय समयमा उपस्थित नहुने, कार्यालय पोसाक नलगाउने, कर्मचारीको आचरण पालना नगर्ने कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरिने अनुगमन टोलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once