यूएन महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय प्रतिष्ठा बढ्यो : सरकार

spot_img

काठमाडौं,११ असोज । प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा अभिवृद्धि भएको सरकारले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री शाह शनिबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा अभिवृद्धि भएको बताएका हुन्।

प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। सेप्टेम्बर २२ देखि २८ सम्म संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना भइरहेको उच्चस्तरीय सप्ताहअन्तर्गत उनले सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले गत महिना भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव र विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गरेका थिए। उनले विपद्बाट भएको जनधनको क्षति तथा भौतिक पूर्वाधार र जनजीविकामा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर तथा हिमनदी र ‘पर्माफ्रस्ट’ पग्लिँदै जाँदा हिमपहिरो, बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढिरहेको विषय पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए।

उनले जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा विपद्का समयमा सीमापार समन्वयका लागि ‘हिमालयन क्लाइमेट रेजिलेन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव गरेका थिए। सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व शान्तिको आह्वान गर्दै विश्व समुदायलाई बुद्धले देखाएको बाटोमा अघि बढ्न आग्रह गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायुका विषयमा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै सफल कार्यकालका लागि बधाई दिएका थिए। भेटमा उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको र हिमताल फुट्ने जोखिम अझै उच्च रहेको विषय पनि उठाएका थिए। साथै, नदी किनारमा रहेका बस्तीको पुनःस्थापना, हरित पुनर्निर्माण तथा नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गर्ने समयसीमा विस्तारका विषयमा समेत छलफल भएको थियो।

यसैगरी, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग पनि भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। महासभाका क्रममा आयोजना भइरहेका अतिकम विकसित मुलुक, भू–परिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जी–७७ र चीनलगायतका मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भइरहेका छन्।

मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घले आयोजना गरेका विभिन्न उच्चस्तरीय छलफल तथा ‘साइड इभेन्ट’मा सम्बोधन गर्नुका साथै छिमेकी तथा मित्रराष्ट्रका समकक्षी र संयुक्त राष्ट्रसङ्घका उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता गरिरहेका छन्। सरकारका अनुसार प्रधानमन्त्रीको महासभा सहभागिताबाट जलवायु परिवर्तन, हिमाली क्षेत्रका चुनौती, विपद् जोखिम न्यूनीकरण, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपालको प्राथमिकताका विषयलाई विश्व मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once