नारायणगढ (चितवन),११ असोज । नारायणी नदीमा आज जलसतह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको नदीको जलसतह दिउँसो २ः१० बजे ११ दशमलव ९४ मिटर पुगेको हो । नारायणी बेसिन फिल्ड कार्यालय, भरतपुरका अनुसार देवघाटमा जलमापन सुरु गरिएयता मापन भएको यो नै अहिलेसम्मकै उच्च जलसतह हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणीको जलसतह दिउँसो २ः१० बजे ११ दशमलव ९४ मिटर पुगेको थियो । देवघाटमा नारायणी नदीको ७ दशमलव ३० मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ । यस आधारमा आज मापन भएको जलसतह खतराको तहभन्दा करिब तीन मिटर माथि पुगेको थियो । पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नारायणीको जलसतह केही घटेर ११ दशमलव ७५ मिटर मा झरेको छ । नदीको सतह घट्दो क्रममा रहे पनि यो अझै खतराको तहभन्दा निकै माथि रहेको छ ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीले देवघाटमा जलमापन सुरु भएयताकै सबैभन्दा उच्च जलसतह आज मापन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा अझै वर्षा भइरहेकाले नारायणी नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने सम्भावना छ ।
यसअघि कहिले पुगेको थियो उच्च जलसतह ?
कार्यालयको अभिलेखअनुसार यसअघि विसं २०८१ असोज १२ गते नारायणी नदीमा ११ दशमलव ६० मिटर जलसतह मापन गरिएको थियो । त्यसैगरी, विसं २०८० साउन २९ गते ८ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते ९ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन भएको अभिलेखमा उल्लेख छ । यसअघि कायम रहेको ११ दशमलव ६० मिटरको उच्चतम विन्दुलाई समेत पार गर्दै आज नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको हो ।
इञ्जिनियर अधिकारीका अनुसार देवघाटमा सन् १९६३ देखि नारायणी नदीको जलमापन हुँदै आएको छ । लामो समयदेखि हुँदै आएको जलमापनको अभिलेखमा आज मापन भएको जलसतह सबैभन्दा उच्च रहेको कार्यालयले जनाएको छ ।
पहाडी क्षेत्रमा भइरहेको वर्षा र त्यसको प्रभावले नदीको बहावमा पुनः परिवर्तन आउन सक्ने भएकाले जलसतह घटे पनि जोखिम कायमै रहेको देखिएको छ ।




