काठमाडौं,११ असोज । नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर पुलको पिलरमा अड्किएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी पुलमा सवारी आवागमन बन्द गरिएको छ ।
नदीको बहाव बढेसँगै बाढीले क्रुजसिप बगाएर पुलको गैंडाकोटतर्फको पिलरमा ल्याएर अड्काएको हो । क्रुजसिपले पुलको पिलरमा धक्का दिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नारायणी पुल भएर हुने सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार केही समयदेखि पुलमा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
उहाँका अनुसार क्रुजसिप पुलको गैंडाकोटतर्फको पिलरमा अड्किएको छ । नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेको र बहावसमेत तीव्र हुँदै गएकाले जोखिम बढेको उहाँले जानकारी दिनुभयो । क्रुजसिप पुलको पिलरमा अड्किएपछि नारायणी पुल हुँदै पूर्व–पश्चिम राजमार्गमा हुने यातायात सेवा प्रभावित भएको छ ।





