भाषा, संस्कृति र कलाको संरक्षणमा साहित्यिक पत्रकारिताको महत्वपूर्ण भूमिका : सञ्चारमन्त्री

spot_img

काठमाडौँ,०६ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा भएको भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले साहित्यिक पत्रकारिता समाजको भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यमका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले साहित्यिक पत्रकारिताले समाजका विविध पक्षलाई अभिलेखीकरण गर्नुका साथै मौलिक भाषा, संस्कृति र सिर्जनालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । विशेषगरी विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले साहित्यिक पत्रकारितालाई काठमाडौंमा केन्द्रित गतिविधिका रूपमा मात्र नहेरी दुर्गम तथा ग्रामीण क्षेत्रबाट भइरहेको पत्रकारितालाई समेत प्राथमिकताका साथ हेर्नुपर्ने धारणा राख्नुभयो । स्थानीय तह र समुदायमा रहेका भाषा, संस्कृति, कला तथा साहित्यसँग सम्बन्धित विषयलाई बाहिर ल्याउन ग्रामीण क्षेत्रबाट हुने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । भेटका क्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिले साहित्यिक पत्रकारिता क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सङ्घले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, पछिल्लो समय बढ्दै गएको डिजिटल अभ्यासलाई समेत ध्यानमा राख्दै साहित्यिक अनलाइन पत्रिकालाई वर्गीकरणको मापदण्डभित्र समेट्नुपर्ने माग सङ्घले राखेको छ । साहित्यिक पत्रकारितालाई समयानुकूल व्यवस्थित र प्रभावकारी बनाउन छापा माध्यमसँगै अनलाइन माध्यमलाई समेत समान रूपमा सम्बोधन गर्नुपर्ने सङ्घको धारणा छ । साहित्यिक पत्रपत्रिकाको प्रकाशनपछि विभिन्न स्थानमा पुर्‍याउने क्रममा देखिँदै आएको ढुवानीसम्बन्धी समस्या समाधान गर्न हुलाक सेवामार्फत आवश्यक सहजीकरण गरिनुपर्ने सुझाव पनि सङ्घले दिएको छ । साहित्यिक पत्रपत्रिकाको पहुँच विस्तारका लागि सहज र प्रभावकारी वितरण प्रणाली आवश्यक रहेको सङ्घको भनाइ छ ।

सङ्घले साहित्यिक पत्रकारिताको विकास तथा प्रवर्द्धनका लागि राज्य र सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा समेत जोड दिएको छ । साहित्य, संस्कृति, कला र मातृभाषासँग सम्बन्धित सामग्रीलाई निरन्तरता दिन तथा साहित्यिक पत्रकारितालाई थप व्यवस्थित बनाउन सरकारी निकाय र साहित्यिक पत्रकारिता क्षेत्रबीच सहकार्य हुनुपर्ने सङ्घको धारणा छ ।

भेटका क्रममा साहित्यिक पत्रकारितामार्फत नेपाली समाजका विविध भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने विषयमा समेत छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once