वीरगंज,२३ भदौ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ सहयोग गरेको छ।
प्याब्सन पर्सामा आबद्ध ४० भन्दा बढी विद्यालयका अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीले स्वेच्छिक रूपमा संकलन गरेको १५ लाख रुपैयाँ सोमबार एक कार्यक्रमबीच प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहलाई हस्तान्तरण गरिएको हो।संकलित रकम प्याब्सन मधेश प्रदेशमार्फत प्याब्सन केन्द्र हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ। प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाका अनुसार यो पहिलो चरणमा संकलन गरिएको राहत रकम हो। दोस्रो चरणमा बाँकी विद्यालयबाट समेत सहयोग संकलन गरी प्याब्सन केन्द्रमार्फत प्रधानमन्त्री राहत कोषमा थप रकम जम्मा गरिनेछ।
राहत संकलन अभियानमा प्याब्सन आबद्ध सदस्य विद्यालयहरूले आफ्ना अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीको सहभागितामा स्वेच्छिक रूपमा सहयोग जुटाएका थिए। रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, वीरगंज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, उपाध्यक्ष विरेन्द्र यादव तथा नगर सचिव अमित आलोकलगायतको सहभागिता थियो।
प्याब्सन पर्साले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउन विद्यालय परिवारको सामूहिक सहभागितामा अभियान सञ्चालन गरिएको जनाएको छ। संस्थाले आगामी चरणमा समेत थप सहयोग संकलन गरी विपद्पीडितका लागि उपलब्ध गराउने जनाएको छ।





