युरिया र डीएपी बोकेर फर्किँदा पक्राउ परेका किसान धरौटीमा रिहा

spot_img

काठमाडौं,२२ साउन । खेतका लागि रासायनिक मल किन्न भारत पुगेका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन्। भारतीय अदालतको आदेशअनुसार उनीहरू शुक्रबार धरौटीमा रिहा भएका हुन्।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतको सीतामढी जिल्लास्थित डुम्रा व्यवहार अदालतको आदेशपछि धरौटीमा छुटेका हुन्। अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले बुधबार नै दुवै किसानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहका अनुसार दुवै जना शुक्रबार साँझ करिब पौने ८ बजे भारतको डुमरवा जेलबाट रिहा भएका हुन्। उनले भने, “आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ। उहाँहरू रिहा हुनुभएको खबर प्राप्त भएको छ।” कानुन व्यवसायीको बहसपछि धरौटीमा रिहा

अदालतमा किसानहरूको पक्षबाट कानुन व्यवसायी संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए। उनीहरूले किसानहरू मल खरिद गरी नेपाल फर्किने क्रममा पक्राउ परेको र घटनाको वास्तविक अवस्था अदालतसमक्ष प्रस्तुत गरेका थिए। गत असार १७ गते भारतको सीतामढी जिल्लाअन्तर्गत सोनबर्षा क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई पक्राउ गरेको थियो।

उनीहरू भारतबाट युरिया र डीएपी मल लिएर नेपाल फर्किंदै गर्दा नियन्त्रणमा परेका थिए। पक्राउपछि उनीहरूलाई असार १८ गते जेल चलान गरिएको थियो। नेपालमा रासायनिक मलको अभाव भएपछि सीमावर्ती क्षेत्रका किसानहरू खेतीका लागि आवश्यक मल किन्न भारतीय बजारसम्म पुग्न बाध्य हुँदै आएका छन्। यही क्रममा उनीहरू पक्राउ परेका थिए। दुवै किसानको रिहाइसँगै परिवार तथा स्थानीयवासीले राहत महसुस गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once