काठमाडौं,१६ साउन । सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले विभिन्न जिल्लाबाट ३९ जनालाई पक्राउ गरेको छ। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरीले गरेको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्ले का अनुसार शुक्रबार मात्रै विभिन्न जिल्लाबाट ३९ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा मधेस प्रदेशका विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये धनुषाबाट २१ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना, पर्साबाट १ जना र सप्तरीबाट १ जना रहेका छन्।
डिआइजी काफ्लेले पक्राउ परेकामाथि सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए। आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि प्रहरीले यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाबाट व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ। प्रहरीका अनुसार साउन १३ गते सुनसरीबाट २ जना पक्राउ परेका थिए।
त्यसैगरी साउन १४ गते धनुषाबाट १२ जना, महोत्तरीबाट १० जना र सिरहाबाट १ जनालाई पक्राउ गरिएको थियो। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी पछि रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक शान्ति, सामाजिक सद्भाव र सुरक्षामा असर पार्ने कुनै पनि गतिविधिलाई नियन्त्रण गर्न निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।





