गण्डकी,१५ साउन । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्ने भएको छ। गत असार २५ गते स्थगित भएको प्रदेशसभा बैठक आज पुनः सञ्चालन हुन लागेको हो।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाइएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।
उनका अनुसार प्रदेश प्रमुखले विधेयक फिर्ता पठाएको सम्बन्धमा पठाएको सन्देश प्रदेशसभामा प्रस्तुत गरिनेछ। साथै बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची पनि तय गरिएको छ। गण्डकी प्रदेशसभाले उक्त गाँजाखेतीसम्बन्धी विधेयक गत असार २५ गते पारित गरेको थियो। त्यसपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त विधेयक पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै गत शुक्रबार प्रदेशसभामा फिर्ता पठाएका थिए।
यससँगै आजको प्रदेशसभा बैठकमा गाँजाखेतीसम्बन्धी विधेयक पुनः छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ।





