मेची भन्सारबाट एक वर्षमै रु १ अर्ब ७९ करोडको छुर्पी निर्यात

spot_img

झापा,१५ साउन । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै गएसँगै यसको निर्यातमा उल्लेखनीय वृद्धि देखिएको हो।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भएको छुर्पी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार पछिल्ला पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढ्दो क्रममा रहेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको बढ्दो लोकप्रियताका कारण निर्यातमा वर्षेनि वृद्धि हुँदै आएको उनले बताएका छन्।

नेपालमा उत्पादन हुने छुर्पी विशेषगरी कुकुर र बिरालोका लागि आहार (Pet Food/Chew) का रूपमा विदेशमा प्रयोग हुने गरेको छ। यसको उच्च मागका कारण पूर्वी पहाडी जिल्लामा उत्पादनसमेत विस्तार हुँदै गएको छ।

विशेषगरी इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा छुर्पी उत्पादन हुने गरेको छ। यी जिल्लाबाट संकलन गरिएको छुर्पी मेची भन्सार कार्यालयमार्फत अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once