रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल, सुनसरी घटनासहित राजनीतिक अवस्थाबारे छलफल

spot_img

काठमाडौं,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग पछिल्लो समसामयिक राजनीतिक अवस्था तथा सुनसरीमा विकसित घटनाक्रमबारे छलफल गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा लामिछानेले सुनसरी घटनापछि बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भएको छलफलका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। उनले बैठकबाट जारी गरिएको सात बुँदे संयुक्त अपिल तथा शान्ति–सुरक्षा कायम गर्न राजनीतिक दलहरूले व्यक्त गरेको साझा प्रतिबद्धताबारे समेत जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेटमा सुनसरीमा विकसित घटनाक्रम, त्यसबाट सिर्जना भएको सामाजिक तथा सुरक्षा चुनौती र परिस्थितिलाई सामान्य बनाउन आवश्यक पहलका विषयमा समेत छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।

सर्वदलीय बैठक सकिएलगत्तै सभापति लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए। सिंहदरबारमा भएको उक्त बैठकमा विभिन्न नौ राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। बैठकले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम राख्न, उत्तेजना फैलाउने तथा अवाञ्छित गतिविधिबाट टाढा रहन, संवादमार्फत समस्या समाधान गर्न र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई आग्रह गरेको थियो।

त्यस्तै, सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने मागसहित सात बुँदे संयुक्त अपिलसमेत जारी गरेको थियो।

राष्ट्रपतिसँगको भेटमा सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्था, राष्ट्रिय एकता कायम गर्ने प्रयास तथा सामाजिक सद्भावका लागि राजनीतिक दलहरूबीच भइरहेको समन्वयबारे समेत जानकारी गराएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once