वीरगंज,१३ साउन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको सरुवा गरिएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न विवादका बीच प्रहरी प्रधान कार्यालयले उनलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) मा सरुवा गरेको हो।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार पाठकको स्थानमा हाल काठमाडौं प्रहरी परिसरका प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा खटाइएको छ। उनी अब जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हाल्नेछन्। गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। बिरामीको मृत्युको खबरसँगै आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट गरेका थिए। घटनापछि स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै वीरगंजका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू गत आइतबारदेखि उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।
यही घटनाको समाधानका लागि गत सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता आयोजना गरिएको थियो। वार्ताका क्रममा एसपी सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरूसँग दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो व्यापक रूपमा भाइरल बनेको थियो। उक्त भिडियो सार्वजनिक भएपछि उनको व्यवहार र भूमिकामाथि विभिन्न तहबाट प्रश्न उठ्न थालेका थिए। विवाद चुलिँदै गएपछि प्रहरी प्रधान कार्यालयले एसपी पाठकलाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गर्ने निर्णय गरेको हो। यससँगै पर्सा प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।
एसपी सुदीपराज पाठक करिब १० महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व गर्दै आएका थिए। उनी गत असोजको पहिलो साता पर्सामा सरुवा भएर आएका थिए। अब उनको स्थानमा एसपी पवन भट्टराईले पर्सा प्रहरीको नेतृत्व सम्हाल्दै जिल्लाको शान्ति सुरक्षा तथा प्रहरी प्रशासनको जिम्मेवारी निर्वाह गर्नेछन्।
नारायणी अस्पताल घटनापछि उत्पन्न परिस्थितिका बीच भएको यो नेतृत्व परिवर्तनलाई पर्साको सुरक्षा प्रशासनसँग जोडिएको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।





