जगरनाथपुरमा हरियाली अभियान तीव्र, ८ बिघा ऐलानी जग्गामा ८ हजार बिरुवा वृक्षारोपण

spot_img

वीरगंज,१३ साउन । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गालाई हराभरा बनाउने अभियानलाई निरन्तरता दिँदै वन तथा वातावरण संरक्षणतर्फ अर्को महत्वपूर्ण कदम चालेको छ। ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत बुधबार गाउँपालिका–६ औराहास्थित ८ बिघा सार्वजनिक ऐलानी पर्ती जग्गामा ८ हजार बिरुवा रोपेर वृक्षारोपण अभियानलाई थप विस्तार गरिएको हो।

वन तथा वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउँदै मधेश प्रदेशबाट संघीय सरकारको सम्मानसमेत प्राप्त गरिसकेको गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षणसँगै हरियाली विस्तार गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवका अनुसार ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक र सिसौलगायत विभिन्न प्रजातिका फलफूल तथा बहुउपयोगी बिरुवा रोपिएका छन्। रोपिएका बिरुवाको संरक्षणका लागि सम्पूर्ण क्षेत्रलाई तारबार गरी सुरक्षित बनाइएको उनले जानकारी दिए।

वृक्षारोपण कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेकपा (एमाले)का नेता वीरेन्द्र यादव, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी तथा वडाध्यक्षहरू नेपाली कुशवाहा, सुभाष यादव र अयोध्या पटेललगायतको उपस्थिति रहेको थियो।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवका अनुसार यसअघि पनि ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत वडा नम्बर ४ को सोहपुर–सोहरीस्थित ६ बिघा, वडा नम्बर १ को पिडारी गुठ्ठीस्थित ७ बिघा तथा वडा नम्बर २ को दसौतास्थित १२ र १५ बिघा ऐलानी जग्गामा सफलतापूर्वक वृक्षारोपण सम्पन्न भइसकेको छ। उनले अब वडा नम्बर २ कै लक्ष्मीपुरस्थित २० बिघा ऐलानी जग्गामा समेत एक साताभित्र वृक्षारोपण गर्ने तयारी भइरहेको जानकारी दिए। अभियानलाई चरणबद्ध रूपमा गाउँपालिकाभर विस्तार गरी सार्वजनिक तथा ऐलानी जग्गालाई हरियाली क्षेत्रमा रूपान्तरण गर्ने लक्ष्य रहेको उनले बताए।

अध्यक्ष यादवले सार्वजनिक तथा ऐलानी जग्गामा वृक्षारोपण गर्दा ती जग्गाको संरक्षण हुनुका साथै हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने र दीर्घकालीन रूपमा स्थानीय समृद्धि तथा प्राकृतिक स्रोतको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

जगरनाथपुर गाउँपालिकाले सञ्चालन गरिरहेको ‘समृद्धिका लागि वन’ परियोजनालाई स्थानीयस्तरमा वातावरण संरक्षण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा भविष्यका पुस्ताका लागि हरित वातावरण निर्माण गर्ने दीर्घकालीन अभियानका रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once