दिनेश यादव
वीरगंज,०५ साउन । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई कारसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) समुन्नत अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार उक्त सफलता हासिल गरेको हो।
प्रहरीका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका–४ स्थित हुलाकी सडकखण्डमा चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको BR06BH5496 नम्बरको भारतीय कारलाई शंकाको आधारमा रोकी जाँच गरिएको थियो। जाँचका क्रममा कारको पछाडिको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा २० किलो ६८७ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत तालका, डुम्रा वडा नम्बर–३३ निवासी ३३ वर्षीय रहम्द अन्सारी रहेका छन्।
प्रहरीले पक्राउ परेका अन्सारी, बरामद गाँजा तथा कारलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।





