सार्वजनिक बिदा पुनरवलोकन गर्न सरकारद्वारा कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

spot_img

काठमाडौं,०४ साउन । सरकारले हाल कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्ने भएको छ। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेपछि साविकमा दिँदै आएका अन्य सार्वजनिक बिदाहरूको संख्या र औचित्यमाथि अध्ययन गर्न सरकारले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले सार्वजनिक बिदाको पुनरवलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो। मुख्यसचिव कार्कीले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा उक्त कार्यदल गठन गरिनेछ। सचिव बैठकले गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहने निर्णय गरेको छ।

कार्यदललाई साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको विस्तृत अध्ययन तथा पुनरवलोकन गरी आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन १५ दिनभित्र गृह मन्त्रालयमा बुझाउनुपर्ने निर्णय गरिएको छ। सरकारले हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि सरकारी सेवा प्रवाह, कार्यालय सञ्चालन तथा कार्यसम्पादनमा परेको प्रभावलाई समेत ध्यानमा राख्दै सार्वजनिक बिदाको व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुनरवलोकन गर्न लागेको हो।

वर्षभरि दिइने सार्वजनिक बिदाहरूको संख्या, आवश्यकता र औचित्यको मूल्याङ्कन गरी समयानुकूल व्यवस्था गर्न कार्यदल गठन गरिएको बताइएको छ। सरकारले सार्वजनिक बिदाको व्यवस्थालाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once