उच्च अदालत विराटनगरले गर्‍यो ५७ प्रतिशत मुद्दाको फैसला, २ वर्षे मुद्दा शून्यमा झारियो

spot_img

विराटनगर,०४ साउन । उच्च अदालत विराटनगरले गत आर्थिक वर्ष ०८२/८३ मा दर्ता भएका कुल मुद्दामध्ये ५७ प्रतिशत मुद्दाको फैसला गर्न सफल भएको जनाएको छ। अदालतका अनुसार पुरानो जिम्मेवारी सरेका तथा नयाँ दर्ता भएका गरी कुल ७ हजार १ सय ५७ वटा मुद्दामध्ये ४ हजार ९९ वटा मुद्दा फैसला गरिएको हो।

उच्च अदालत विराटनगरले आर्थिक वर्ष ०८२/८३ को न्याय सम्पादनसम्बन्धी विवरण सार्वजनिक गर्दै मुद्दा व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको जनाएको छ। अदालतले विशेष प्राथमिकतामा राखेर काम गर्दा दुई वर्ष अवधिका मुद्दालाई शून्यमा झार्न सफल भएको जानकारी दिएको छ। यद्यपि, १८ महिना नाघेका मुद्दाहरू भने अझै ८७ वटा बाँकी रहेको अदालतले जनाएको छ। पुराना मुद्दाको शीघ्र टुंगो लगाउने प्रयास भइरहेको अदालतको भनाइ छ।

विराटनगरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा धेरै मुद्दाका मिसिल (फाइल) जलेका कारण १८ महिना नाघेका केही मुद्दाको फैसला प्रक्रियामा ढिलाइ भएको जानकारी दिए। उनका अनुसार आन्दोलनका क्रममा अदालतमा रहेका चालु अवस्थाका मुद्दामध्ये ४७ वटा मुद्दाका मिसिलहरू अझै प्राप्त हुन सकेका छैनन्। मिसिल उपलब्ध नभएका कारण ती मुद्दाको सुनुवाइ तथा फैसला प्रक्रियामा समस्या देखिएको उनले बताए।

कार्यक्रममा उच्च अदालत विराटनगरले गरेका फैसलाहरूको विवरण, अदालतको व्यवस्थापकीय सुधार, न्याय सम्पादनमा भएका प्रगति तथा अन्य गतिविधिबारे सञ्चारकर्मीहरूलाई जानकारी गराइएको थियो। अदालतका अनुसार जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा मुद्दाका अभिलेख नष्ट भएका थिए। करिब ७० हजार मुद्दाका अभिलेख जलेकोमा हालसम्म १ हजार ६ सय मुद्दाको पुनः मिसिल खडा गरिएको जानकारी दिइएको छ।

उच्च अदालत विराटनगरले नष्ट भएका अभिलेख पुनः निर्माण, बाँकी मुद्दाको शीघ्र फैसला तथा प्रभावकारी न्याय सम्पादनका लागि आवश्यक कामहरू निरन्तर अघि बढाइरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once