नेपालगन्ज,०२ साउन । बाँकेको खजुरा बजारस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। लामो समयदेखि जडान भएर पनि सञ्चालनमा आउन नसकेको प्लान्ट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालन गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार २० किलोलिटर क्षमताको उक्त प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालन सुरु गरिएको हो। अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट सञ्चालन भएपछि बाहिरबाट सिलिण्डरमा अक्सिजन ल्याउनुपर्ने बाध्यता हटेको उनले बताए। “प्लान्ट सञ्चालनमा आएपछि आवश्यक पर्दा अक्सिजन भण्डारण गरेर राख्न सकिन्छ,” डा. भट्टराईले भने।
उनका अनुसार अस्पतालले सेवा विस्तारका क्रममा केमोथेरापी वार्डमा छुट्टै फार्मेसी सञ्चालनमा ल्याएको छ भने एउटै भवनबाट रेडियोलोजी र प्रयोगशाला सम्बन्धी डायग्नोसिस सेवा समेत सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयको समन्वय तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को आर्थिक सहयोगमा उक्त अक्सिजन प्लान्ट स्थापना गरिएको हो। कार्यकारी निर्देशक भट्टराईले लायन्स क्लबको सहकार्यमा छिट्टै बिरामीका कुरुवाका लागि आवास गृह (कुरुवा घर) सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
धार्मिक अनुष्ठानमार्फत जनस्तरबाट निर्माण गरिएको उक्त अस्पताल २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो। संघीय सरकारले पूर्ण स्वामित्व लिए पनि हालसम्म अस्पतालको स्थायी दरबन्दी स्वीकृत हुन नसक्दा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट सेवा सञ्चालन हुँदै आएको छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ। यो अस्पताल नेपालगन्ज बजारबाट करिब १० किलोमिटर पश्चिम खजुरामा अवस्थित छ।





