काठमाडौं,२३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपाध्यक्ष डा. खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुदमन्त्री एवं चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र प्रदान गर्दै मन्त्री पोखरेलले आयोगको जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको थियो। अर्को व्यवस्था नभएसम्मका लागि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
यसअघि सरकारले सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित अन्य पदाधिकारीहरू पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो। डा. खत्रीको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगले स्थायी नेतृत्व पाएको छ। नयाँ नेतृत्वसँगै आयोगका नीति निर्माण, चिकित्सा शिक्षाको नियमन, गुणस्तर सुधार तथा शैक्षिक सुधारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
चिकित्सा शिक्षा क्षेत्रको व्यवस्थापन, गुणस्तरीय जनशक्ति उत्पादन तथा शैक्षिक संस्थाहरूको नियमनमा महत्वपूर्ण भूमिका खेल्दै आएको आयोगले अब नयाँ नेतृत्वमार्फत आफ्ना कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको छ।





