न्यूनतम तलबभन्दा कम पारिश्रमिकमा काम गर्न बाध्य नर्सहरू, गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमाथि गम्भीर आरोप

spot_img

सप्तरी(राजविराज),१९ असार ।  नेपाल सरकारले निर्धारण गरेको न्यूनतम मासिक पारिश्रमिकभन्दा कम तलबमा काम गर्न बाध्य बनाइएको भन्दै सप्तरीस्थित गजेन्द्र नारायण सिंह अञ्चल अस्पतालमाथि गम्भीर आरोप लागेको छ। अस्पतालमा कार्यरत केही करार नर्सहरूले आफूहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम रकम उपलब्ध गराइएको गुनासो सार्वजनिक गरेका छन्।

नेपाल सरकारले श्रमिकका लागि न्यूनतम मासिक पारिश्रमिक रु. १९ हजार ५५० तोकेको भए पनि अस्पताल प्रशासनले दिन–रात खटिएर सेवा प्रदान गरिरहेका करार नर्सहरूलाई मासिक करिब रु. १६ हजार मात्र उपलब्ध गराउँदै आएको आरोप छ।

पीडित पक्षका अनुसार अस्पतालमा कार्यरत करार नर्सहरूलाई न्यून पारिश्रमिकमा काम गर्न बाध्य पारिएको मात्र नभई तलब निर्धारणका विषयमा बार्गेनिङ गर्ने, कर्मचारीमाथि दबाब सिर्जना गर्ने तथा प्रशासनिक प्रक्रियामा पारदर्शिताको अभाव देखिएको आरोपसमेत लगाइएको छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा निरन्तर सेवा दिइरहेका नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाउनु श्रम अधिकारको गम्भीर उल्लंघन भएको भन्दै सम्बन्धित पक्षले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले राज्यले निर्धारण गरेको मापदण्डअनुसार पारिश्रमिक उपलब्ध गराइनुपर्ने माग गरेका छन्।

उक्त विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न, दोषी ठहरिएका पक्षमाथि आवश्यक कारबाही गर्न तथा स्वास्थ्यकर्मीहरूको श्रम अधिकार सुनिश्चित गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।

यद्यपि, अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ। आरोपबारे अस्पताल पक्षको प्रतिक्रिया प्राप्त भएपछि समाचारलाई थप अद्यावधिक गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once