वीरगंज,०५ असार। फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड १६ लाख ९७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्दै फोहरमैला व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, कृषि, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाभर फोहरमैला व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउन आवश्यक अध्ययन तथा अनुसन्धान गरिनेछ। यसका लागि आवश्यक स्रोत, साधन तथा पूर्वाधारको व्यवस्था गर्दै फोहरमैला व्यवस्थापन कार्यविधि, २०७९ लाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने नीति अवलम्बन गरिएको छ।
त्यसैगरी बाढी, हावाहुरी, आगलागी, हुस्सुलगायतका प्राकृतिक तथा अन्य विपद्जन्य घटनाबाट हुने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत–साधनको व्यवस्था गरिने भएको छ। विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित गाउँपालिकाले विपद् तयारी तथा व्यवस्थापनलाई समेत विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको कुल ३९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानका साथै राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम समावेश गरिएको छ। यस्तै प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको मौज्दातसमेत बजेटमा समेटिएको गाउँपालिकाले जनाएको छ।
व्ययतर्फ कृषि तथा पशुपालन, शिक्षा, खेलकुद, स्वास्थ्य, सामाजिक समावेशीकरण, वन तथा विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, प्रशासनिक सञ्चालन, कर्मचारी तलब–भत्ता, कार्यालय सञ्चालन तथा विविध खरिद कार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले यसको तयारी तथा व्यवस्थापनमा प्रत्यक्ष रूपमा योगदान पुर्याउने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, आर्थिक प्रशासन शाखा तथा विभिन्न विषयगत शाखाका कर्मचारीहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
साथै गाउँपालिकाले कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी तथा सम्पूर्ण फेटा गाउँपालिकावासीप्रति आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम तथा बजेटले सरसफाइ, विपद् व्यवस्थापन, कृषि उत्पादन, सामाजिक विकास र पूर्वाधार विस्तारलाई सन्तुलित रूपमा अघि बढाउँदै समग्र गाउँपालिकाको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको





