सप्तरी,०५ असार । सप्तरीको महादेवा गाउँपालिका–१ पकरिमा रहेको श्री नरबहादुर थापा माध्यमिक विद्यालयमा विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा आयोजित कार्यक्रममा “शिक्षित राजविराज, विकसित राजविराज” अभियानका अभियन्ता डा. सूर्य यादव, सामाजिक सहयोगकर्ता तथा सञ्चारकर्मी कौशल कुमार यादव सहित विद्यालयका सम्पूर्ण शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले हाजिरी जवाफजस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूको ज्ञान, तार्किक क्षमता तथा सिर्जनात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै भविष्यमा आवश्यक व्यवहारिक सीप र आत्मविश्वास वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।





