राजविराज(सप्तरी),२९ जेष्ठ । सप्तरीको राजविराज नगरपालिका–१३ स्थित महावीर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयमा केही समययता देखिएका विभिन्न विवादका बीच नयाँ नेतृत्वसँगै शैक्षिक सुधारका प्रयासहरू तीव्र बन्दै गएको अवस्थामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
नवनियुक्त प्रधानाध्यापक आदित्य नारायण यादवको नेतृत्वमा विद्यालयको व्यवस्थापन, अनुशासन तथा शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अभियान अघि बढाइएको छ। सोही अभियानअन्तर्गत मिति २०८३ जेठ २९ गते आयोजित हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रधानाध्यापक आदित्य नारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा “शिक्षित राजविराज, विकसित राजविराज” महाअभियानका अभियानकर्ता डा. सूर्य यादव, समाजसेवी तथा शिक्षाप्रेमी कौशल कुमार यादव लगायत विद्यालयका सम्पूर्ण शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो ज्ञान, क्षमता तथा आत्मविश्वास प्रदर्शन गर्ने अवसर प्राप्त गरेको भन्दै यस्ता अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक आदित्य नारायण यादवले विद्यालयलाई थप व्यवस्थित, गुणस्तरीय तथा विद्यार्थीमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।





