काठमाडौँ,२३ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताएका छन्।
पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत देशभर जिल्ला अधिवेशन सुरु भएको अवसरमा शनिबार विशेष अपिल जारी गर्दै सभापति लामिछानेले रास्वपा अब देश हाँक्ने मूल राजनीतिक शक्तिको रूपमा अघि बढ्ने बताएका हुन्।
उनले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै व्यक्तिगत चिन्ताभन्दा संगठनको विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। लामिछानेले भने, ‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। संगठन विस्तार हुँदा “म रहन्न कि” भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ।’
सभापति लामिछानेले पार्टीभित्र पदको आशक्ति, पुरानो सोच र योगदानको हिसाब–किताब खोज्ने प्रवृत्तिको आलोचना गर्दै यस्तो अभ्यास पार्टी जीवनका लागि हितकर नहुने बताए। उनले स्थापनाकालमा सहमतिका आधारमा बाँडिएका जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी संस्कारका लागि उपयुक्त नहुने उल्लेख गरे।
महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीको विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ। लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विचारसँगै व्यवहार र राजनीतिक संस्कार पनि सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले ‘म’ बाट ‘हामी’ मा रूपान्तरण हुने समय आएको बताउँदै पार्टीलाई जनमुखी, पारदर्शी र सुदृढ बनाउन सबै सदस्यको भूमिका महत्वपूर्ण हुने धारणा राखे। रास्वपाको वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको र जिल्ला अधिवेशन जारी रहेको पनि उनले जानकारी दिए।





