काठमाडौं,२२ जेष्ठ । काठमाडौंमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको छ। गत शुक्रबार भने सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आइतबार बजेटमार्फत भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएपछि सुनको मूल्यमा अचानक वृद्धि भएको थियो। भन्सार दर बढेकै कारण प्रतितोला करिब २० हजार रुपैयाँले मूल्य वृद्धि भएको महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला ५ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २३० रुपैयाँमा झरेको छ। गत शुक्रबार चाँदीको भाउ प्रतितोला ५ हजार ४० रुपैयाँ थियो। बजारमा पछिल्ला दिनहरूमा देखिएको यो उतारचढावले सुनचाँदी कारोबारमा प्रत्यक्ष प्रभाव पारेको व्यवसायीहरूले बताएका छन्।






