काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू सरकार सञ्चालनको सुरुवाती चरणमा रहेको बताउँदै देशलाई निकास दिएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो भ्रमण व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि नभई नेपाल र नेपालीको उन्नति तथा समृद्धिको ढोका खोल्ने उद्देश्यले भएको बताएका हुन्। सभापति लामिछानेले जनतामाझ फैलिएका निराधार हल्लाको पछाडि नलाग्न आग्रह गर्दै आफ्नो टोली पूर्ण रूपमा विकास र सुशासनको कार्यमा प्रतिबद्ध रहेको दाबी गरे। उनले राजनीतिक भागबन्डाको युग अन्त्य गर्ने कसम खाएको उल्लेख गर्दै आफूहरू भागबन्डा गर्न नभई जनताको भाग्य परिवर्तन गर्न आएको स्पष्ट पारे।
उनले भने, ‘हामी भागबण्डा गर्नको लागि होइन, भाग्य परिवर्तन गर्नका लागि आएका छौँ। सजिलो छैन, हामीलाई थाहा छ। तर यति चाहिँ भन्न सक्छु कि सजिलो नभए पनि असम्भव छैन। हजारौँ माइलको यात्राको लागि सबैभन्दा पहिला एउटा पाइला चाल्नै पर्छ।’ बाटो कठिन भए पनि असम्भव नरहेको उल्लेख गर्दै उनले परिवर्तनको यात्राको पहिलो पाइला चालिसकेको र निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे।
रास्वपा नेतृत्वको सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने अधिकार समर्थकहरूसँग सधैँ रहने बताउँदै उनले पार्टी संगठनलाई अझ मजबुत बनाउन पनि निर्देशन दिएका छन्। सभापति लामिछानेले सरकार सञ्चालनको सुरुवाती चरण भएकाले गर्नुपर्ने काम धेरै रहेको उल्लेख गर्दै सरकारप्रति फैलिन सक्ने आशंका र हल्लाको पछाडि नलाग्न आग्रह गरे। उनले आफ्नो टोली पूर्ण प्रतिबद्धताका साथ देशको विकासमा केन्द्रित रहेको दोहोर्याए।





