Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन सम्पन्न, प्रतिवेदनका लागि समितिले माग्यो थप ५ दिन

spot_img

काठमाडौं,१८ जेष्ठ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित उच्चस्तरीय समितिले अनुसन्धानको मुख्य कार्य सम्पन्न गरेको जनाएको छ। तोकिएको समयसीमा सोमबार सकिए पनि प्रतिवेदनलाई अन्तिम रूप दिन थप समय आवश्यक परेको भन्दै समितिले सरकारसँग पाँच दिनको समय माग गरेको छ।

समितिका अनुसार गुरुङको बयान लिने तथा आवश्यक प्रमाण संकलन गर्ने कार्य पूरा भइसकेको छ। यद्यपि प्रतिवेदन लेखन र संकलित प्रमाणहरूको थप विश्लेषण गर्न बाँकी रहेकाले समय थपको आवश्यकता परेको हो। यस सम्बन्धमा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाइसकेको छ। तर सरकारले हालसम्म समय थपबारे औपचारिक निर्णय गरेको छैन।

वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।

समितिले पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति विवाद, व्यवसायी दीपक भट्टको कम्पनीमा रहेको शेयर लगानी, हदबन्दीभन्दा बढी जग्गा स्वामित्व तथा विभिन्न विवादित जग्गाको खरिद–बिक्रीसँग सम्बन्धित विषयमा केन्द्रित भएर अनुसन्धान गरिरहेको छ।

चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङ सार्वजनिक गरिएको सम्पत्ति विवरणसँग सम्बन्धित विभिन्न प्रश्नका कारण विवादमा तानिएका थिए। सार्वजनिक पदमा रहँदा र त्यसपछिको सम्पत्ति विवरणमा देखिएका असंगतिबारे व्यापक आलोचना भएपछि उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि सरकारले उनीमाथि उठेका गम्भीर प्रश्नहरूको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न उक्त उच्चस्तरीय समिति गठन गरेको थियो। समितिको अन्तिम प्रतिवेदनपछि गुरुङमाथि उठेका आरोपबारे सरकारी धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once