सरकारको पूर्वाधारमा ठूलो घोषणा : हजार किलोमिटर सडक कालोपत्र, २७५ पुल निर्माण हुने

spot_img

काठमाडौँ,१५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशभर करिब एक हजार किलोमिटर सडक कालोपत्र गर्ने तथा २७५ वटा सडक पुल निर्माण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिएका हुन्।

सरकारले कुल १ हजार २८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने योजना समेत अघि सारेको छ। बढ्दो सवारी चापलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमै कमला–कञ्चनपुर तथा नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नति कार्य पूर्ण रूपमा सम्पन्न गरिने बजेटमा उल्लेख गरिएको छ। यसका लागि राजमार्गका विभिन्न खण्डहरूको स्तरोन्नति तथा अध्ययनका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) का लागि सरकारले १७ अर्ब ६४ करोड रुपैयाँ छुट्टाएको छ। यस परियोजनाअन्तर्गत आगामी वर्ष ४० वटा पुल निर्माण तथा ५.४ किलोमिटर सुरुङमार्गको काम सम्पन्न गरिने लक्ष्य राखिएको छ। त्यस्तै, वर्षौँदेखि प्रतिक्षित नागढुङ्गा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याइने घोषणा गरिएको छ। सरकारले पूर्वाधार विकासका विभिन्न परियोजनालाई तीव्रता दिने उद्देश्यसहित बजेट विनियोजन गरेको हो।

हुलाकी राजमार्गलाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ४ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गका लागि १ अर्ब, पुष्पलाल मध्यपहाडी राजमार्गका लागि २ अर्ब १६ करोड तथा मदन भण्डारी राजमार्गका लागि १ अर्ब ४६ करोड रुपैयाँ छुट्टाइएको छ। मुख्य राजमार्ग तथा रणनीतिक सडकहरूमा निर्माण हुने ४० वटा ठूला पुलसहित स्थानीय सडक पुलका लागि ९ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सडक सञ्जालको आधुनिकीकरण अन्तर्गत पृथ्वी राजमार्गको आबुखैरेनीदेखि पोखरासम्म चार लेन सडक निर्माणलाई तीव्रता दिइनेछ भने नागढुङ्गा–मुग्लिन खण्डको ४० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। यी आयोजनाका लागि कुल ६ अर्ब ५५ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ। त्यसैगरी छिमेकी देशसँगको व्यापार सहज बनाउन उत्तर–दक्षिण जोड्ने कर्णाली, कालीगण्डकी र कोशी करिडोरका लागि संयुक्त रूपमा ६ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको स्तरोन्नतिका लागि १ अर्ब ३५ करोड छुट्याइएको छ भने सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास गर्ने कार्य पनि प्रारम्भ गरिने बजेटमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once