Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
23.7 C
Kathmandu

मधेसमा दाइजो र बालविवाह अन्त्य गर्न उपसभामुख ठाकुरको आह्वान

spot_img

बरहथवा (सर्लाही)१० जेष्ठ । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुरले मधेस प्रदेशमा जरा गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध आफू निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाद्वारा आयोजित ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले यस्ता सामाजिक विकृतिले समाजको भविष्य नै अन्धकारतर्फ धकेलिरहेको बताइन् ।

उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेस प्रदेशको मात्र नभई सिङ्गो देशकै कलंकका रूपमा रहेको उल्लेख गर्दै यसको पूर्ण उन्मूलनका लागि राज्य, समाज र परिवार सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले छोरीलाई बोझका रूपमा हेर्ने लैङ्गिक विभेदकारी सोचकै कारण समाजमा बालविवाह र दाइजो प्रथाले अझै निरन्तरता पाइरहेको बताइन् ।

‘छोरी जन्मिँदा घरमा बोझ थपियो भनेर दुःखी हुने सोच बदलिनुपर्छ,’ उनले भनिन्, ‘माता सीताको जन्मभूमिमा छोरी जन्मनु त गर्व र सौभाग्यको विषय हो ।’ उनले छोरीलाई सम्मान र अवसर दिने संस्कार विकास गर्न सके मात्र समाज समृद्ध र सभ्य बन्न सक्ने धारणा व्यक्त गरिन् । उपसभामुख ठाकुरले दाइजो प्रथा र बालविवाहले वैवाहिक जीवन मात्र नभई परिवार र समाजमा समेत विखण्डन तथा असन्तुलन निम्त्याइरहेको उल्लेख गरिन् । उनले कम उमेरमै विवाह गर्दा किशोरीहरूको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पर्ने भन्दै बालविवाह अन्त्य गर्न अभिभावकहरू अझ सचेत हुनुपर्ने बताइन् ।

पछिल्लो समय किशोर–किशोरीहरू घर छोडेर हिँड्ने तथा आवेगमा आएर गलत निर्णय गर्ने प्रवृत्ति बढ्दै गएकोतर्फ संकेत गर्दै उनले अभिभावकको सुझाव र अनुभवलाई गलत नबुझ्न युवापुस्तालाई आग्रह गरिन् । उनले सामाजिक सञ्जाल र बदलिँदो परिवेशका कारण युवामा देखिएको असहिष्णुता तथा आवेगलाई संयमता र संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता औंल्याइन् । कार्यक्रममा सर्लाही–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नीतिमा कार्की भण्डारीले मधेसमा दाइजो र बालविवाहको स्वरूप समयसँगै फेरिए पनि यसको मूल प्रवृत्ति अझै कायम रहेकोमा चिन्ता व्यक्त गरिन् । उनले शिक्षा नै यस्ता कुरीति र कुसंस्कार अन्त्य गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउँदै छोरीहरूलाई उच्च शिक्षा दिलाउन अभिभावकहरूलाई आग्रह गरिन् ।

‘जबसम्म छोरी शिक्षित र आत्मनिर्भर हुँदैनन्, तबसम्म समाजमा दाइजो र बालविवाहजस्ता समस्या पूर्ण रूपमा अन्त्य हुन सक्दैनन्,’ सांसद भण्डारीले भनिन् । उनले समाज परिवर्तनका लागि कानुनसँगै जनचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक रूपान्तरण र सकारात्मक सन्देश प्रवाहमा योगदान पुर्‍याउने उदाहरणीय व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । छोरीलाई कक्षा १२ सम्म पढाएर २० वर्ष पूरा भएपछि मात्र विवाह गराउने अभिभावक, बुहारीलाई स्नातक तहसम्म अध्ययन गराउने सासू–ससुरा तथा बिनादाइजो विवाह गर्ने आदर्श जोडीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो । आयोजकका अनुसार यस्ता सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा छोरी शिक्षालाई प्रोत्साहन गर्न विभिन्न प्रेरणादायी कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने नीति लागू गरेको छ । त्यस्तै, कक्षा १२ सम्म अध्ययन गर्ने छोरीहरूलाई प्रोत्साहनस्वरूप एकमुष्ट ११ हजार रुपैयाँ नगद उपलब्ध गराउँदै आएको छ ।

स्थानीय तहको यस्तो पहलले बालविवाह न्यूनीकरण, छोरी शिक्षा प्रवर्द्धन तथा दाइजो प्रथाविरुद्ध जनचेतना फैलाउन सकारात्मक प्रभाव परेको सहभागीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once