Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
spot_img
22.4 C
Kathmandu

हरिखेतान बहुमुखी क्याम्पसको समस्या समाधान गर्न सरकार मौन रहेको नेवि संघ नेता पटेलको आरोप

spot_img

वीरगंज,०७ जेष्ठ । नेपाल विद्यार्थी संघ (नेवि संघ) का नेता कृष पटेलले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको समस्या प्रति सरकार र जिल्ला प्रशासन मौन रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले वर्तमान अवस्थालाई “विद्यार्थीको भविष्यसँग भइरहेको गम्भीर खेलवाड” को संज्ञा दिएका छन् ।

पटेलले जारी गरेको धारणा अनुसार पर्सा, बारा र रौतहटका हजारौँ विद्यार्थी अध्ययन गर्ने उक्त क्याम्पस विगतदेखि सामुदायिक स्वरूपमा सञ्चालन हुँदै आएको थियो । त्रिभुवन विश्वविद्यालयबाट नियमित अनुदान प्राप्त गरिरहेको क्याम्पस केही वर्षअघि निजी मोडलअनुसार सञ्चालन गर्ने प्रयासपछि विश्वविद्यालयले अनुदान रोकिएको र त्यसयता समस्या थप जटिल बन्दै गएको उनले उल्लेख गरेका छन् ।

उनका अनुसार पहिले क्याम्पस व्यवस्थापन समितिमा प्रमुख जिल्ला अधिकारीसहित समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने गरे पनि हाल सीमित व्यक्तिको नियन्त्रणमा रहेको व्यवस्थापन समितिले विद्यार्थी हितभन्दा शुल्क असुलीलाई प्राथमिकता दिइरहेको छ । उनले गरिब तथा मध्यमवर्गीय विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको आरोप लगाए ।

पटेलले क्याम्पसमा शिक्षक तथा कर्मचारी ३८ दिनदेखि निरन्तर धर्नामा बसेको, शैक्षिक गतिविधि ठप्प जस्तै बनेको तथा दैनिक विवादका कारण शान्ति–सुरक्षाको अवस्था समेत प्रभावित भएको बताएका छन् ।

उनले जिल्लाबाट निर्वाचित सांसदहरू तथा सरकार समस्या समाधानमा गम्भीर नदेखिएको आरोप लगाउँदै विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै निर्वाचनअघि गरिएका विकास र परिवर्तनका आश्वासन व्यवहारमा लागू नभएको टिप्पणी गरेका छन् । “जनताले दिएको मतको सम्मान हुन सकेको छैन,” उनले भने ।

नेवि संघ नेता पटेलले प्रमुख जिल्ला अधिकारीले लामो समयदेखि देखिएको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै तत्काल सरुवाको मागसमेत गरेका छन् ।

उनले क्याम्पसको समस्या समाधानका लागि सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित निकायले तत्काल वार्ता र पहल सुरु गर्नुपर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once