वीरगंज,०३ जेष्ठ । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो दोस्रो साधारण सभाको अवसरमा संस्थाका संस्थापक सदस्य स्वर्गीय नरेश सर्राफ लाई मरणोपरान्त सम्मान प्रदान गरेको छ । वीरगंजस्थित होटल मकालुमा शनिबार आयोजित कार्यक्रममा सर्राफको पत्रकारिता क्षेत्र तथा संस्थाको स्थापना र सुदृढीकरणमा पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान अर्पण गरिएको हो । 
संस्थाका अध्यक्ष प्रणय साह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय सर्राफकी छोरीलाई नगद रु ५ हजार १ सयसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी ले सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा वक्ताहरूले स्वर्गीय नरेश सर्राफले पत्रकारिता क्षेत्रसँगै संस्थाको स्थापना र विकासमा पुर्याएको योगदान अतुलनीय र स्मरणीय रहेको उल्लेख गरेका थिए । उनीहरूले संस्थाको प्रारम्भिक चरणदेखि नै सक्रिय भूमिकामा रहेका सर्राफको योगदानले संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
संस्थाले सर्राफको योगदानलाई उच्च मूल्यांकन गर्दै मरणोपरान्त सम्मान प्रदान गरिएको जनाएको छ । सम्मान कार्यक्रमले संस्थाका अग्रजहरूको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ । साधारण सभामा विभिन्न सञ्चारकर्मी, सामाजिक व्यक्तित्व तथा पत्रकारिता क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले स्वर्गीय सर्राफप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको पत्रकारिताप्रतिको समर्पणलाई स्मरण गरेका थिए । वीरगंजका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते हृदयघातका कारण अल्पायुमै निधन भएको थियो ।





