Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img
28.1 C
Kathmandu

ऊर्जा संकट र आपूर्ति अवरोधले दिगो विकास लक्ष्यमा चुनौती : परराष्ट्रमन्त्री

spot_img

काठमाडौँ,०२ जेष्ठ । परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण गरिबी निवारण र दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा गम्भीर चुनौती उत्पन्न भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। 

सम्बोधनका क्रममा मन्त्री खनालले आपसी मतभेद समाधान गर्दै विश्व शान्ति, स्थिरता र शान्तिपूर्ण सहअस्तित्व कायम गर्न कूटनीतिक संवाद अपरिहार्य रहेको बताए। उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीय प्रणाली र विश्वव्यापी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

मन्त्री खनालले जलवायु परिवर्तन र भू–राजनीतिक संकटका कारण सबैभन्दा बढी जोखिममा परेका देशहरू, विशेषगरी नेपालजस्ता अल्पविकसित तथा भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूलाई विशेष सहयोग आवश्यक रहेको उल्लेख गर्दै विश्व समुदायसँग सहयोगको आग्रह गरे।

उनले उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा तथा दिगो आपूर्ति प्रणालीमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रविधि र नवप्रवर्तनमा पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए। साथै कमजोर अर्थतन्त्र भएका देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपत्कालीन सहयोग र ऋण राहतका उपायहरू तत्काल उपलब्ध गराउन उनले आह्वान गरे।

परराष्ट्रमन्त्री खनालको यस सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक अडान र विश्वव्यापी आर्थिक न्यायका पक्षमा आवाजलाई थप सशक्त बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once