Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img
28.1 C
Kathmandu

होल्डिङ सेन्टरका बालबालिकालाई एसईईसम्म निःशुल्क आवासीय शिक्षा

spot_img

काठमाडौं,०२ जेष्ठ । काठमाडौँ महानगरपालिकाले नदी किनारमा अवैध रूपमा निर्माण गरिएका टहरा तथा संरचना हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’ मा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिने उद्देश्यले महत्वपूर्ण कदम अघि बढाएको छ। महानगर, निजी शैक्षिक संस्थाहरूको सङ्गठन (प्याब्सन र एन–प्याब्सन) तथा प्रभावित अभिभावकबीच भएको त्रिपक्षीय सहमतिअनुसार ती बालबालिकाले एसईईसम्म निःशुल्क आवासीय छात्रवृत्ति पाउने भएका छन्। 

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार विस्थापित बालबालिकालाई शिक्षाको मूलधारमा समेट्ने उद्देश्यसहित यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। सहमति अनुसार छनोटमा परेका विद्यार्थीहरूको पठनपाठन, आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयहरूले बेहोर्नेछन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा हाल आश्रय लिइरहेका करिब ३०० परिवारमध्ये प्रारम्भिक चरणमा ५० जना बालबालिकाको पहिचान गरी मूल्यांकन गरिएको थियो। तीमध्ये ४१ जना बालबालिकालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी १० वर्षभन्दा माथिका २० जना बालबालिकामध्ये १३ जनालाई शुक्रबारदेखि नै छात्रावाससहित निजी विद्यालयमा पठाइएको छ।

१० वर्षभन्दा कम उमेरका बालबालिकालाई छात्रावासमा राख्ने विषयमा केही व्यवहारिक चुनौती देखिए पनि कतिपय निजी विद्यालयले उनीहरूलाई अध्ययन गराउने तत्परता देखाएका छन्। अभिभावकको सहमतिमा १० वर्षमुनिका बालबालिकालाई पनि एसईईसम्म निःशुल्क शिक्षा र आवास उपलब्ध गराउन महानगर तयार रहेको जनाएको छ।

यस कार्यक्रमअन्तर्गत महानगरपालिकाले विद्यार्थीलाई कापी, किताब र पोसाकलगायत शैक्षिक सामग्री उपलब्ध गराउने, नियमित अनुगमन गर्ने तथा अभिभावक र विद्यालयबीच समन्वय गर्ने जिम्मेवारी लिएको छ। प्याब्सन र एन–प्याब्सनले भने कानुनअनुसारको १० प्रतिशत छात्रवृत्ति कोटा प्रयोग गरी आफ्ना सदस्य विद्यालयहरूमा ती बालबालिकालाई भर्ना गराउने प्रतिबद्धता जनाएका छन्। महानगरपालिकाले कीर्तिपुरबाहेक अन्य क्षेत्रमा रहेका विस्थापित बालबालिकालाई पनि सरकारी विद्यालयमा निःशुल्क तथा निजी विद्यालयमा छात्रवृत्ति दिलाउन आवश्यक सहजीकरण गर्ने जनाएको छ।

यसैबीच, काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १४ जना बालबालिकालाई छात्रावाससहित निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा बसेको बैठकले महानगर, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता गरी कक्षा १० सम्म निःशुल्क आवासीय शिक्षा सुनिश्चित गर्ने निर्णय गरेको हो।

सम्झौता पत्रमा महानगरतर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू तथा विद्यार्थीका अभिभावकहरूले हस्ताक्षर गरेका छन्। होस्टेल जान लागेका बालबालिकासँग भेट गर्दै कार्यवाहक प्रमुख डंगोलले अध्ययनमा ध्यान दिन आग्रह गर्दै ‘राम्ररी पढ्नु, असल नागरिक बन्नु’ भन्ने शुभकामना दिएकी थिइन्। महानगरको यस पहलले होल्डिङ सेन्टरमा रहेका परिवार तथा बालबालिकामा नयाँ आशा र उत्साह थपिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once