Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
23.1 C
Kathmandu

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, २९ वैशाखभित्र आउने

spot_img

काठमाडौं,०१ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित विवरण इन्ट्रीको काम तीव्र बनाएको छ। बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विभिन्न जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका बोर्डमा आउने क्रम जारी रहेको छ। ‘मार्कस्लिप छुट्याएर इन्ट्री गर्ने काम भइरहेको छ। उत्तरपुस्तिका पनि क्रमशः आइरहेका छन्,’ उनले भने।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा यस वर्ष केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। परीक्षा सम्पन्न भएलगत्तै केन्द्रमा नै जाँच गरिएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा पठाउने व्यवस्था गरिएको थियो। हालसम्म ८ देखि १० जिल्लाबाट सामग्री प्राप्त भइसकेको र अन्य जिल्लाबाट आउने क्रम जारी रहेको अधिकारीले बताए।

बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएको छ। त्यसमध्ये १७ जना कर्मचारी इन्ट्री कार्यमा केन्द्रित रहेका छन्। समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित बिदाका दिनमा समेत कर्मचारीहरू खटिएको जनाइएको छ।

सरकारले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि सोहीअनुसार त्रुटिरहित रूपमा नतिजा तयार पार्ने काम भइरहेको बोर्डले जनाएको छ। परीक्षा सकिएपछि ढिला नतिजा आउँदा विद्यार्थीमा अनावश्यक तनाव हुने भएकाले छिटो नतिजा सार्वजनिक गर्ने नीति लिइएको बताइएको छ।

यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन्। जापानको एक केन्द्रबाट २३ जना विद्यार्थी सहभागी भएका थिए। यस वर्ष देशभर १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once