काठमाडौं,२२ चैत । पोखरास्थित फेवातालको बीच भागमा हावाहुरीका कारण अलपत्र परेका ११ जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार दिउँसो अचानक आएको हावाहुरीका कारण तालको बीचमा फसेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपालको टोलीले उद्धार गरेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की अन्तर्गत फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घर्ती मगरको कमाण्डमा खटिएको टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार टोलीले सबैलाई सुरक्षित रूपमा किनारमा ल्याउन सफल भएको हो।
उद्धार गरिएकामध्ये तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी रहेका छन्। त्यस्तै, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुन, म्याग्दीको अन्नपूर्ण–३ बाग्लुङका २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमीना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर र १९ वर्षीया रिया मगर रहेका छन्।
यस्तै, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब पनि उद्धार गरिएका छन्। समयमै गरिएको उद्धारका कारण कुनै मानवीय क्षति हुन नपाएको सशस्त्र प्रहरीले जनाएको छ।





