काठमाडौँ,१६ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्र तथा जिल्लाका तत्कालीन समस्या र सम्भावित समाधानका विषयमा छलफल गरेका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर प्रधानमन्त्री शाहले विकास समस्या, चुनौती र समाधानका उपायबारे चासो व्यक्त गरेका हुन् ।

छलफलमा सहभागी कोशी प्रदेशका सांसद यज्ञमणि न्यौपानेले आफ्नो प्रदेश तथा विभिन्न जिल्लाका साझा समस्या र क्षेत्रीय विकासका मुद्दा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको बताए । उनका अनुसार प्रधानमन्त्री शाहले “समस्याको समाधानका उपाय के–के हुन सक्छन्?” भन्दै प्रत्यक्ष जिज्ञासा राखेका थिए ।

न्यौपानेका अनुसार प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै, सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या राखेपछि बजेट र प्राथमिकताका आधारमा समाधान गर्न सकिने धारणा व्यक्त गरिएको थियो ।
केही समस्या बजेट अभावका कारण तत्काल समाधान हुन नसक्ने भए पनि तत्काल सम्बोधन गर्न सकिने मुद्दाहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रधानमन्त्री शाहले आश्वासन दिएको सहभागी सांसदहरूले बताएका छन् ।







