कौशल कुमार यादव
राजविराज, १२ चैत। सप्तरीको राजविराज नगरपालिका–१३ बिशहरियास्थित श्री महावीर माध्यमिक विद्यालयमा विद्यालय सुधारको माग गर्दै स्थानीय युवा, अभिभावक तथा समुदायका व्यक्तिहरूले प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका छन्। बिहीबार गरिएको उक्त आन्दोलनमा सहभागीहरूले विभिन्न १२ बुँदे माग अघि सार्दै माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिएका छन्।
स्थानीय युवा प्रतिक यादवको नेतृत्वमा भएको आन्दोलनमा सरोज कुमार यादव, सरोज यादव, बलराम यादव, देवन यादव, अनिल यादव, राधेश्याम यादव, बिलित यादवलगायत स्थानीय युवा तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आन्दोलनकारीहरूले विद्यालयमा कार्यरत दुई जना प्रधानाध्यापक रहेको विषयप्रति असन्तुष्टि जनाउँदै दुवै प्रधानाध्यापकको कार्यालयमा तालाबन्दी गरेका हुन्।
आन्दोलनकारीहरूले १२ बुँदे मागपत्र विद्यालय प्रशासन, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इशरत परवीन तथा सम्बन्धित निकायसमक्ष बुझाएका छन्। तर वडा अध्यक्षले माग सुन्न अस्वीकार गरेको र पत्र ग्रहण गर्न नमानेको आरोप स्थानीय युवाहरूले लगाएका छन्। वडा अध्यक्षले भने उक्त पत्र अन्य कर्मचारीमार्फत कार्यालयमा बुझाउन सुझाव दिएको बताइएको छ।
माग सम्बोधनमा ढिलाइ भएमा सम्पूर्ण विद्यालयमा तालाबन्दी गर्ने, साथै सप्तरी शिक्षा विकास तथा समन्वय इकाइ तथा राजविराज नगरपालिकाको कार्यालय अगाडि धर्ना तथा अनशन बस्ने चेतावनी आन्दोलनकारीहरूले दिएका छन्। विद्यालयमा पारदर्शिता, गुणस्तरीय शिक्षा तथा प्रशासनिक सुधारका लागि आन्दोलन सुरु गरिएको उनीहरूको भनाइ छ।
आन्दोलनकारीहरूले पछिल्ला चार वर्षमा विद्यालयमा भएका निर्माण कार्य, विद्यार्थीलाई वितरण गरिएको खाजा तथा शिक्षकहरूको तलब वितरणबारे निष्पक्ष छानबिन र लेखा परीक्षण गर्न माग गरेका छन्। साथै विद्यालयमा एक मात्र योग्य प्रधानाध्यापक नियुक्त गर्न, राजनीतिक हस्तक्षेप अन्त्य गर्न, शिक्षकहरूको डिजिटल हाजिरी प्रणाली लागू गर्न र विद्यालयको आम्दानी–खर्च सार्वजनिक गर्न पनि माग गरिएको छ।
त्यसैगरी अभिभावक, शिक्षक र समुदायको सहभागितामा अनुगमन समिति गठन, योग्य शिक्षक नियुक्ति, विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा आधारभूत सुविधा सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ। शिक्षकहरूको कार्यसम्पादन मूल्यांकन गरी लापरवाही गर्नेलाई कारबाही गर्न तथा विद्यालयलाई सुरक्षित, अनुशासित र विद्यार्थीमैत्री वातावरण बनाउने कडा नियम लागू गर्नुपर्ने माग आन्दोलनकारीहरूको रहेको छ।
विद्यालय सुधार, पारदर्शिता र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि आफूहरू आन्दोलनमा उत्रिएको स्थानीय युवाहरूले बताएका छन्। उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।





