Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

सिंहदरबार घटनामा ‘योजनावद्ध घुसपैठ’को आशंका, उप्रेतीको बयान

spot_img

काठमाडौँ,११ चैत । सशस्त्र प्रहरी बलका एसएसपी राजेश उप्रेतीले भदौ २४ मा सिंहदरबारको सुरक्षाका क्रममा भएको घटनामा योजनावद्ध ढंगले हिंसा भड्काइएको बताएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले आफ्नो कमाण्डमा रहेको टोलीबाट कुनै पनि गोली नचलाइएको स्पष्ट पारेका छन्।

उप्रेतीका अनुसार प्रारम्भमा भद्रकालीतर्फबाट आएका करिब ४–५ हजार प्रदर्शनकारीलाई सम्झाइबुझाइ गर्दै नियन्त्रणमा राख्ने प्रयास गरिएको थियो। तर समयसँगै भीडको स्वभाव आक्रामक बन्दै गएपछि अवस्था जटिल बनेको उनले उल्लेख गरेका छन्।

भीड नियन्त्रणका लागि ग्यास सेल र लाठीचार्ज प्रयोग गरिएको भए पनि प्रदर्शनकारीहरू थप उग्र बन्दै सुरक्षाकर्मीमाथि दबाब सिर्जना गरेका थिए। पश्चिम गेटतर्फ केही व्यक्तिले एसएलआर हतियार तेर्स्याएपछि अवस्था अत्यन्त संवेदनशील बनेको उनले बताएका छन्।

‘त्यतिबेला गोली चलाउँदा ठूलो मानवीय क्षति हुन सक्ने देखेर मैले स्वविवेक प्रयोग गर्दै गोली नचलाउने निर्णय लिएँ,’ उप्रेतीले बयानमा भनेका छन्, ‘त्यसका लागि कुनै आदेश आवश्यक थिएन।’

घटनाका क्रममा एक महिला प्रहरीलाई भीडबाट उद्धार गर्ने क्रममा आफू सामान्य घाइते भएको र अन्य केही सशस्त्र प्रहरी कर्मचारीहरू पनि सामान्य घाइते भएको उनले बताएका छन्।

नेपाली सेनाले भीड नियन्त्रणका लागि हवाई फायरिङ गरेको भए पनि त्यससम्बन्धी निर्णय प्रक्रियामा आफू प्रत्यक्ष संलग्न नभएको उनले स्पष्ट पारे।

उप्रेतीले प्रारम्भमा सहभागी ‘जियन–जेड’ युवाहरू पछि हट्दै गएको र त्यसपछि हिंसात्मक गतिविधिमा संलग्न समूह अघि आएको दाबी गरेका छन्। यसबाट घटनामा योजनावद्ध घुसपैठ भएको आशंका उनले व्यक्त गरेका छन्।

साथै उनले भीड नियन्त्रणका लागि आवश्यक उपकरण, तालिम र समन्वय प्रणाली अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। बडी क्यामेरा, ड्रोन, वाटर क्याननजस्ता गैर–घातक उपकरणको अभाव, स्पष्ट कार्यविधि (एसओपी) को कमी तथा सुरक्षा निकायबीच समन्वय कमजोर रहेको उनको निष्कर्ष छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रारम्भिक चेतावनी प्रणाली, सामाजिक सञ्जाल नियन्त्रण संयन्त्र, संयुक्त अभ्यास र कम्युनिटी पोलिसिङलाई सुदृढ गर्नुपर्नेमा उनले जोड दिएका छन्। नयाँपेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once