३ दिनदेखि अशान्त कपिलवस्तु, निषेधाज्ञा उल्लंघनमा प्रदर्शनकारी पक्राउ

spot_img

काठमाडौँ,०९ चैत । कपिलवस्तुको दक्षिणी क्षेत्रमा दुई समुदायबीच देखिएको विवाद तीन दिन बित्दा पनि साम्य हुन सकेको छैन। सोमबार विभिन्न स्थानमा प्रदर्शन हुँदा तीन जना पक्राउ परेका छन् भने प्रशासनले निषेधाज्ञा जारी राखेको छ।

महाराजगन्जअन्तर्गत वरगदा गाउँमा मन्दिर तोडफोडको विषयबाट सुरु भएको विवाद चर्किँदा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सो क्रममा प्रहरीको गोली लागेर चार जना घाइते भएका थिए। उक्त घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीमध्ये सोमबार तीन जनालाई नियन्त्रणमा लिइएको हो।

स्थानीयका अनुसार आइतबार पनि जिल्लाका विभिन्न स्थानमा प्रदर्शन हुँदा प्रहरीले कुटपिट गरेको आरोप लगाइएको छ। पत्रकार नारद कोहारका अनुसार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय हिन्दू परिषद् नेपालका राष्ट्रिय प्रभारी मनोज शुक्ला, जिल्ला अध्यक्ष विरेन्द्र चौधरी र विश्व हिन्दु परिषद नेपालका जिल्ला उपाध्यक्ष सुनिल तिवारी रहेका छन्।

हिन्दू संगठनहरूले आह्वान गरेको बन्दका कारण कपिलवस्तु नगरपालिका भित्रका सबै विद्यालय बन्द गरिएको छ भने सञ्चालनमा रहेका परीक्षा पनि स्थगित भएका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालयले संयमता अपनाउन र सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको विज्ञप्तिमा वार्ता र संवादमार्फत समस्या समाधान गर्न सकिने अवस्थामा बन्द, हड्ताल र चक्काजामजस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ।

घटनामा संलग्न दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइएको र घाइतेको उपचार भइरहेको प्रशासनले जनाएको छ। साथै, सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।

उता अन्तर धार्मिक सद्भाव संघ नेपालले महाराजगन्ज, बहादुरगन्जलगायत क्षेत्रमा देखिएको धार्मिक तनावप्रति चिन्ता व्यक्त गर्दै संवाद र सहकार्यबाट समाधान खोज्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once