वीरगंज,०५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनीसँग भेटघाट गरेका छन्।
बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । साथै उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
भेटका क्रममा सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै उपचार खर्चसमेत आफूले बेहोर्ने प्रतिबद्धता जनाए। “आफ्नो तलबबाट दिएर हुन्छ कि अन्य कुनै माध्यमबाट हुन्छ, उपचारको सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो,” उनले बताए।
घटनाका बेला आफू काठमाडौँमा पार्टीको अभिमुखीकरण कार्यक्रममा रहेको उल्लेख गर्दै उनले जानकारी पाउनासाथ पार्टीका प्रतिनिधिलाई अस्पताल पठाएर अवस्थाबारे बुझ्न लगाएको जानकारी दिए। “कार्यक्रममा रहेकै बेला पनि मैले पीडितको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको थिएँ। काठमाडौँबाट फर्किनासाथ अस्पताल आएर भेटघाट गरेको हुँ,” उनले भने।
सांसद कानुले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग समेत घटनाबारे जानकारी लिँदै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको बताए। “सामान्य घरायसी विवादका क्रममा यस्तो अमानवीय अपराध गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले जोड दिए।
महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले संसद् अधिवेशन सुरु भएपछि यो विषय सदनमा उठाउने प्रतिबद्धता जनाए। साथै पीडित महिलाका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने पनि उनले बताए।





