वीरगंज,१६ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फको समर्थनमा सयौं युवाहरुको सहभागितामा भव्य मोटरसाइकल र्याली निकालिएको छ। जनमत पार्टी निकट युवा दस्ता तथा जेन्जि जनमत संघको आयोजनामा सम्पन्न र्यालीले चुनावी माहोल थप तातिएको छ।
शनिबार आयोजित मोटरसाइकल र्याली वीरगंजका विभिन्न स्थान हुँदै क्षेत्रका प्रमुख चोक तथा बस्तीहरू परिक्रमा गरेको थियो। र्यालीमा सहभागी युवाहरुले जनमत पार्टीको झण्डा, ब्यानर तथा नारासहित उत्साहजनक उपस्थिति जनाउँदै उम्मेदवार सरार्फप्रति आफ्नो समर्थन प्रकट गरेका थिए। युवाहरुले “परिवर्तनका लागि जनमत”, “युवाको रोजाइ, ओमप्रकाश सरार्फ” लगायतका नारा लगाउँदै चुनावी वातावरणलाई थप ऊर्जावान बनाएका थिए।
आयोजक संस्थाका प्रतिनिधिहरूले युवाहरूको उल्लेखनीय सहभागिताले पर्सा–१ मा जनमत पार्टीप्रति बढ्दो आकर्षण र विश्वास झल्किएको बताएका छन्। उनीहरूले देश र क्षेत्रको समृद्धिका लागि सक्षम, प्रतिबद्ध र इमानदार नेतृत्व आवश्यक रहेको भन्दै सरार्फ नै त्यसका लागि उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।
र्यालीमा सहभागी युवाहरूले क्षेत्रको विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि नयाँ सोच र ऊर्जासहितको नेतृत्व आवश्यक रहेको बताए। उनीहरूले पुराना राजनीतिक शैलीभन्दा फरक ढंगले जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्वको रूपमा सरार्फलाई अघि सारेका छन्।
उम्मेदवार ओमप्रकाश सरार्फले युवाहरूको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै युवाहरू नै परिवर्तनका संवाहक भएको उल्लेख गरे। उनले युवाको ऊर्जा, क्षमता र सहभागितालाई विकासमा प्रयोग गर्ने आफ्नो स्पष्ट योजना रहेको बताउँदै पर्सा–१ लाई आर्थिक, शैक्षिक र पूर्वाधारको दृष्टिले नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाए।
जनमत पार्टीले पर्सा–१ मा घरदैलो, जनसम्पर्क, मोटरसाइकल र्याली तथा युवासँग प्रत्यक्ष अन्तरक्रिया जस्ता कार्यक्रममार्फत चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा युवाहरूको सक्रिय सहभागिताले जनमत पार्टीको चुनावी अभियान थप सशक्त बन्दै गएको र यसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको स्थानीय राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।





