वीरगंज,१६ फागुन । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका–५ चिल्झपट्टीमा शनिबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा तथा विकास योजनाबारे जानकारी गराएका थिए। उनले क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य, सिंचाइ र रोजगारीलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीले रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा नेपाली कांग्रेस पर्सा–४ का क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवसहित पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाली कांग्रेसले पर्सा–४ मा संगठन सुदृढ गर्दै घरदैलो, टोलसभा र मतदातासँग प्रत्यक्ष संवादमार्फत चुनावी अभियानलाई तीव्र बनाएको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा चिल्झपट्टी क्षेत्रमा उम्मेदवार रिजालको सक्रियताले पार्टी कार्यकर्ता तथा समर्थकमा उत्साह थपिएको बताइएको छ।





