Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
spot_img
21.9 C
Kathmandu

बगही–इनरवामा रास्वपाको जनउभार, विभिन्न दलबाट सामूहिक प्रवेश

spot_img

वीरगंज,०४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रभावशाली शक्ति प्रदर्शन गरेको छ। रास्वपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा सघन घरदैलो अभियान सञ्चालन गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको हो। अभियानका क्रममा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय शिक्षामा सहज पहुँच तथा स्थायी रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिने बताउनुभयो। उहाँले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्दै हालै सार्वजनिक गरिएको ‘जनतासँगको करार पत्र’ अनुसार पाँच वर्षसम्म निरन्तर जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो,” कानुले भन्नुभयो। समावेशी विकास र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले सबै वर्ग, समुदाय र क्षेत्रको हक–हित सुनिश्चित गर्ने उहाँको भनाइ थियो।

घरदैलो अभियानपछि आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा भने उल्लेखनीय राजनीतिक ध्रुवीकरण देखिएको छ। विभिन्न दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ताले रास्वपामा औपचारिक प्रवेश गरेका छन्। नेकपा (एमाले) का दलित नेता शिसम् महारा सहित नेपाली काँग्रेस, जसपा नेपालआजपा लगायत दलका नेता–कार्यकर्ताले रास्वपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर तथा पार्टीको खादा लगाएर स्वागत गर्नुभएको थियो।

नवप्रवेशीहरूले पुराना दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै परिवर्तन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको खोजीमा रास्वपा रोजेको बताएका छन्। उनीहरूले घण्टी छापमा मतदान गरी रास्वपाका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बगही र इनरवा टोलमा भएको व्यापक पार्टी प्रवेशलाई स्थानीय तहमा रास्वपाप्रति बढ्दो जनसमर्थनका रूपमा विश्लेषण गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once