काठमाडौँ,१४ पुस । मधेशका दुई प्रमुख राजनीतिक शक्ति जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एकीकरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको प्रक्रिया अघि बढाएका हुन् ।
दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक अवस्थाको गहन मूल्यांकन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्न पार्टी एकताको आवश्यकता महसुस गरिएको सहमति पत्रमा उल्लेख छ । संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दाहरूलाई सशक्त बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने साझा लक्ष्यका साथ पार्टी एकताको निर्णय गरिएको जनाइएको छ ।
सहमति पत्रमा मधेश आन्दोलनबाट उठेका मुद्दाहरूलाई संस्थागत गर्न, मधेशी समुदायको अधिकार सुनिश्चित गर्न तथा राष्ट्रिय राजनीतिमा मधेशको आवाजलाई थप सशक्त बनाउने उद्देश्यसहित एकीकृत पार्टी अघि बढ्ने उल्लेख गरिएको छ । विगतका मतभेदलाई अन्त्य गर्दै साझा एजेन्डामा केन्द्रित भई राजनीतिक स्थिरता र सुशासनका पक्षमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता दुवै पार्टीले जनाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार जसपा नेपाल र लोसपा नेपालबीचको एकताले मधेश केन्द्रित राजनीतिलाई नयाँ दिशा दिनुका साथै राष्ट्रिय राजनीतिमा समेत उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ । पार्टी एकीकरणको औपचारिक प्रक्रिया, संगठनात्मक संरचना तथा नेतृत्व व्यवस्थापनसम्बन्धी थप निर्णय आगामी दिनमा सार्वजनिक गरिने नेताहरूले बताएका छन् ।





