काठमाडौं,०३ पुस । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्। यस कार्यका माध्यमबाट विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेको जानकारीका आधारमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, र झापाको भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनैजनालाई नागरिकता, लिखत किर्ते र सङ्गठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।





