वीरगंज,२१ मंसिर । वीरगंज महानगरपालिका–२, रेल्वे रोडस्थित छपकैयामा निर्माण गरिएको छपकैया तरकारी तथा फलफूल थोक बजार आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । यससँगै लामो समयदेखि वीरगंजमा व्यवस्थित थोक तरकारी बजारको अभाव समाधान भएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले बजार छपकैया वासीकै पहिचानमा निर्माण गरिएको बताउनुभयो । उहाँले बजारलाई सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीय समुदायकै नेतृत्व आवश्यक पर्नेमा जोड दिँदै भने, “यो बजार यहाँका स्थानीयवासीको धरोहर हो । यसको संरक्षण र व्यवस्थापनमा सबैको सहभागिता जरुरी छ ।”
सिंहका अनुसार थोक बजारको निर्माण योजना अढाई वर्षअघि नै प्रारम्भ भए पनि वीपी उद्यानमा रहेका व्यवसायीको कारण ढिलाइ भएको हो । वीपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्ने तथा अव्यवस्थित बजार हटाई छपकैया बजारमा स्थानान्तरण गर्ने कार्य अघि बढाइरहेको उहाँको भनाइ छ । “वैभव वीरगंजको यात्रामा व्यवस्थित बजार हाम्रो महत्वपूर्ण कदम हो,” सिंहले थप टिप्पणी गर्नुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवैलाई राहत मिल्ने बताउनुभयो । उहाँले अव्यवस्थित रूपमा सडक छेउ वा अस्थायी स्थानमा व्यापार गर्नुपर्ने बाध्यता अब हट्ने उल्लेख गर्नुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा बनेका १४ युनिटमा २८ सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, खानेपानी, शौचालय, ढलनिकास र सुरक्षा व्यवस्थासहित आधारभूत सुविधा उपलब्ध रहेको बताउँदै, दोस्रो चरणमा थप ७० लाख लगानीसहित संरचना विस्तारको योजना अघि बढाइने जानकारी दिनुभयो । उहाँले खुद्रा र थोक कारोबारलाई छुट्टाछुट्टै संरचना मार्फत सञ्चालन गरिने भएकाले व्यवसाय सञ्चालन सहज हुने बताउनुभयो ।
बजार निर्माण गरिएको जग्गा कानुनी रूपमा सार्वजनिक रहेको महानगरले स्पष्ट गरेको छ । तीन दशकदेखि विवादमा रहेको जग्गासम्बन्धी दाबीहरू खारेज गर्दै २०८१ असोज १६ मा नेपाल सरकारको नाममा दर्ता गरेसँगै बजार निर्माण सुरक्षित बनेको महानगरको तर्क छ ।
बजार उद्घाटनमा सहभागी व्यवसायीहरूले स्थायी संरचना बनेपछि लगानी, भण्डारण सुधार, गुणस्तरीय बिक्री प्रणाली र किसानसँग प्रत्यक्ष कारोबार सहज हुने विश्वास व्यक्त गरेका छन् ।





