वीरगंज,१८ मंसिर । पर्साको बहुदरमाई नगरपालिका–४, डोकैला बहुअरी बजारमा यही मंसिर २२ गते आम जनता पार्टी (आजपा) द्धारा क्षेत्रीय भेला आयोजना हुने भएको छ। पर्सा क्षेत्र नं–२ का लागि तय गरिएको उक्त भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष उपस्थितिको तयारी भइरहेको पार्टीले जनाएको छ।
भ्रष्टाचारविरुद्ध कडा खबरदारी गर्ने उद्देश्यसहित आयोजना हुन लागेको भेला तयारी तीव्र गतिमा अगाडि बढिरहेको आजपाका मधेश प्रदेश अध्यक्ष उमेश साहले जानकारी दिए। उनका अनुसार बिहीबार विभिन्न टोल–बस्तीका युवाहरूसँग भेटघाट, परामर्श र संगठन विस्तारबारे विस्तृत समीक्षा गरिएको छ।
प्रदेश अध्यक्ष साहले भने, “जनताको अधिकार र परिवर्तनको पक्षमा आजपाले जनस्तरमा सशक्त अभियान सुरू गरेको छ। भ्रष्ट र विगतमा जनता साथ धोका गर्नेहरूसँग युवाहरू अब सम्झौता गर्दैनन्।”
पार्टीका अनुसार कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न गर्न स्थानीय कार्यकर्ता, युवाहरू र शुभेच्छुकहरूको सक्रिय सहभागिता सुनिश्चित गरिँदै छ।





